कसरी बाँच्दैछन् कमरेडहरु ? साभार: जन-आस्था साप्ताहिक |
लामो संघर्षपश्चात् अस्तित्वमा आएको संविधानसभा नागरिकलाई संविधानसमेत नदिई विघटन भयो । मासिक ४० हजार र बैठक भएको दिनको भत्तामा रमेका सभासद्हरू अवकाशपछि पानीविनाको माछाजस्तै भए । सिन्धुपाल्चोक जिल्लाबाट ७ जना सभासद्ले संविधानसभामा प्रतिनिधित्व गरेका थिए । अहिले कसरी चलेको छ त तिनको गुजारा ? प्रस्तुत छ, तिनकै शब्दमा :० अग्निप्रसाद सापकोटा (एमाओवादीका प्रत्यक्षतर्फ पूर्वसभासद्)
सभासद् हुनुअघि पनि जसोतसो जीवन चलाइरहेका थियौँ । बाह्रवर्षे सशस्त्र द्वन्द्वमा समेत जनताको मन जितेर चलेका थियौँ भने सभासद्को भत्ता नआउनेबित्तिकै अत्तालिनुपर्ने कारण छैन । पार्टीले सहयोग गरेको छ । कोही शुभचिन्तकले सहयोग गरेका छन् । जसोतसो चलेको छ । ० राजकुमार श्रेष्ठ (एमाओवादीका प्रत्यक्षतर्फका पूर्वसभासद्) काम गरेर खान लजाउनुपर्ने कारण छैन । त्यसैले खासा व्यापारमा हात हालेको छु । त्यसकै आम्दानीले चलेको छु । ० दावा लामा (एमाओवादीका प्रत्यक्षतर्फका पूर्वसभासद्, हाल नेकपा-माओवादी जिल्ला नेता) पुनर्गठित पार्टी नेकपा-माओवादीको विभिन्न राज्यसमिति र अधिवेशन तथा संगठन विस्तारमा समय खर्च गरेको छु । सभासद् हुँदाको भन्दा कठिन छ । तर, दुःख-सुख चलाइरहेको छु । दाइले एउटा व्यवसाय गर्नुहुन्छ । उहाँले पहिल्यैदेखि सहयोग गर्दै आउनुभएको छ र अहिले पनि गरिरहनुभएको छ । ऋणपान पनि गरिरहेको छु । ० केशव नेपाल (एमाओवादीका समानुपातिकतर्फका पूर्वसभासद्) संविधानसभाबाट आउने भत्ताले घर चलाउन सहयोग गरे पनि सम्पूर्ण खर्च घरखर्चमा खर्च परेको थिएन । सभासद् भएर विकास निर्माणलगायत काममा व्यस्त रहँदा संविधानसभाबाट आउने पैसा खर्च हुन्थ्यो । आर्थिक हिसाबमा कठिन भए पनि शुभचिन्तकको ऋणपानले नै धानेको छु । छोरा पढाउने खर्चसमेत ऋणबाट चलाइरहेको छु । ० डोल्मा तामाङ (एमालेकी समानुपातिकतर्फकी पूर्वसभासद्) संविधानसभा विघटनपछि सामाजिक संघसंस्थाको काममा लागेँ । पहिलाजस्तो सहज छैन । पूर्वसभासद्को हैसियत जोगाइराख्न धौ-धौ छ, तर कष्टसँग भए पनि संघसंस्थाबाट आउने खर्चले चल्न पुगेको छ । ० ल्हार्केल लामा (एमालेका समानुपातिकतर्फका पूर्वसभासद्) संविधानसभा विघटन हुँदा एकचिम्टी दुःख लागेको छैन । राजनीतिमा यस्तै हुन्छ । संविधानसभापछि खासगरी पार्टीकै काममा व्यस्त रहेँ । आर्थिक त मलाई हिजो समस्या थिएन, आज पनि छैन । परिवारै खान्दानी थियो । विभिन्न संघसंस्थामा काम गर्छु । एक हिसाबको व्यापार गर्छु । केही समस्या छैन । ० चलनबहादुर तामाङ (राप्रपाका समानुपातिकतर्फका पूर्वसभासद्) घरमा दुःख गरेर पहिल्यै कमाई बचाएको केही पैसा र संविधानसभाबाट आएको पैसा बचेको छ । त्यसैले खर्च चलाएको छु । अबचाहिँ राजनीतिभन्दा फरक अरू कुनै व्यवसाय गर्नुपर्छ कि भन्ने सोचेको छु ।- बिमल नेपाल |
Friday, April 12, 2013
कसरी बाँच्दैछन् कमरेडहरु ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment