Saturday, April 13, 2013

के तपाईंको नाम गुगलमा छ ?..

googleअस्ति एक दिन साथीहरु बसेर यसै गफिदै थियौं, एक जना साथीले प्रसंग निकाल्नु  भो “मेरो नाम गुगलले देखाउदै देखाउदैन? खाली अरुको मात्र आउछ । त्यहाँ सर्च गर्दा देखिने  कसरि बनाउने ?”
एक साधारण मान्छे वा गैर-प्राविधिक व्यक्तिको लागि यो कौतुहलताको बिषय नै हो । अझ यदि तपाइँ कुनै पेशा संग सम्बन्धित हुनुहुन्छ वा नयाँ करिअर  शुरु गर्दै हुनुहुन्छ भने पक्कै पनि तपाइँलाइ आफ्नो नाम गुगलमा खोज्दा आइदिए हुन्थ्यो जस्तो लाग्छ होला । जस्तो कि तपाइँ अस्ट्रेलियामा माइग्रेसन एजेन्ट वा वकिल भएर  काम गरिरहनु  भएको छ र कसैले गुगलमा गएर   “सिड्नीमा नेपाली वकिल” भनेर सर्च गर्दा तपाइको नाम एक नम्बरमा आयो भने तपाइँको  बिजनेशमा कति फरक पर्छ होला ? यो आजको इन्टरनेटको सुचना मै आधारित संसारमा पक्कै पनि तपाइँ अनुमान गर्न सक्नुहुन्छ । र यो एउटा वकिल पेशा मात्र नभएर एकाउनटेन्ट, डाक्टर, लेखक, संगीतकार, गायक, मोडल, आइटी प्रोफेसनल लगायत  सबै क्षेत्रको लागि कुनै न कुनै रुपमा लाभदायक  हुन्छ । त्यसले तपाइको बिजनेश मात्र  बढाउन सहयोग गर्ने होइन कि तपाइको त्यो क्षेत्र संगको लगाव र तपाइँको व्यक्तिगत पहिचानको लागि पनि सहयोग गर्छ ।
कुरा त सहि नै हो, तर कसरि गर्ने त?
म यहाँ केहि तरिकाहरु उल्लेख गर्छु जसको प्रयोगले तपाईंको नाम गुगलमा सर्च गर्दा आउने मात्र होइन, तपाइले गर्नु भएको पेशा र तपाइँको पहिचानलाइ बढाउँ सहयोग गर्ने छ ।
blog

१ – ब्लग

व्यक्तिगत र पेशागत दुवै तरिकाले इन्टरनेटको दुनियामा अत्यन्तै चर्चित  माध्यम हो ब्लगिंग । यसलाई साधारण भाषामा भन्नु पर्दा अनलाइन डायरी भन्दा पनि हुन्छ । जसलाई तपाइँले पूर्णरुपमा व्यक्तिगत सोचहरुको कुना बनाउन पनि सक्नुहुन्छ वा  पेशागत व्यक्तिहरुको जमघटको साझा चौतारी पनि बनाउन सक्नुहुन्छ । यदि तपाइँ कविता, कथा, गीत, फोटोग्राफी जस्ता श्रीजनशिल कुराहरुमा लाग्नु भएको छ भने त आफ्ना श्रीजनाहरुलाई दर्शक सामु ल्याउने दरिलो माध्यम बन्न सक्छ ।
र पेशागत रुपमा कुरा गर्दा तपाइँ भर्खर युनिभर्सिटीको पढाइ सकाउनु भएको छ वा कुनै पेशामा काम गर्दै हुनुहुन्छ, दुवै परिस्थितिमा आफ्नो इन्डस्ट्रीमा पकड जमाउनका लागि राम्रो अवसर हुन सक्छ । जसमा तपाइँले आफ्नो पेशासंग सम्बन्धित आइडियाहरु सेयर गर्ने मात्र नभएर आफ्नो पेशामा आवद्द व्यक्तिहरुसंग नेटवर्किंग बढाउनका लागि पनि अत्यन्तै सहयोगी हुन्छ । आजकल यदि  तपाइँले  कम्पनीको वेबसाइटहरुमा हेर्नु भयो भने धेरै जसो कम्पनीले ब्लग बनाएका हुन्छन । फेसबुक, गुगल, ट्विटर देखि लिएर भर्खर हुर्कदैं गरेका साना-साना कम्पनीहरुले पनि आफ्नो उद्ध्योगको बारेमा आफ्ना राय राखेकै हुन्छन । जसले गर्दा ग्राहकहरुलाई कम्पनीको धारणा र उद्धेश्य बुझ्न सहयोग गर्छ र कम्पनीको पारदर्शितालाइ पनि झल्काउछ ।
यदि ब्लग कसरी बनाउने भनेर सोच्नु भएको छ भने, यहिँ नेपाली पत्रको गएको दुइ अंकमा मैले वर्डप्रेसबाट कसरि सजिलै साइट बनाउने भनेर उल्लेख गरेको छु । त्यसको सहयोग पनि लिन सक्नुहुन्छ ।

personal-website-development२ – पर्सनल साइट

तपाइँहरुलाई लाग्न सक्ला, पर्सनल साइटलाइ किन दोश्रो स्थान दिइयो । आजकल पर्सनल साइट बनाएर “मपाईं” गरिरहनु भन्दापनि  आफ्ना व्यवसायिक सोच, अनुभव र आइडियाहरुलाई अगाडी ल्याउनुलाई विश्वशनिय मानिन्छ । तर त्यो भन्नुको अर्थ यो पनि होइन कि पर्सनल साइट बनाउनु नराम्रो हो ।
पर्सनल साइटमा आफ्नो बारेमा केहि कुराहरु र आफ्नो बायो डाटा राख्ने र त्यसको साथसाथै एउटा ब्लग चलाउनुलाई अझ प्रभावकारी हुन्छ ।  जसबाट तपाइँले इन्डस्ट्रीमा  घटिरहेका नयाँ घटना र जानकारीहरु माथि आफ्ना बिचार राख्न पाउनुहुन्छ । जसले तपाईको त्यो इन्डस्ट्रीमा भएको दख्खल र लगावलाइ झल्काउछ ।
पर्सनल साइट बनाउदा यदि तपाइँ  अस्ट्रेलिया मै कार्यरत हुनुहुन्छ र तपाइँको कार्य क्षेत्र यहि नै पर्छ भने अस्ट्रेलियालाइ नै प्रतिनिधित्व गर्ने डोमेन नेम डट एयु लिनुभयो भने राम्रो हुन्छ । त्यसको लागि तपाइँले ए बि एन दर्ता गर्नु पर्ने हुन्छ ।
facebook-art-marketing-webinar1

३ – फेसबुक

अहिले सम्मको डाटा अनुसार फेसबुकका 1000 मिलियन भन्दा माथि प्रयोगकर्ता पुगिसकेका छन् । यदि आफ्नो व्यक्तिगत मार्केटिंग गर्नु छ भने यो संसारकै सबैभन्दा ठुलो झुण्डमा बसेर किन  नगर्ने ?
यसको एउटा सानो हिस्साले मात्रै तपाइँको कुरा सुनिदिन्छ भनेर अरु के नै चाहियो र ! तर त्यसको लागि भने तपाइँले आफ्नो बिजनेश पेज वा फ्यान पेज बनाउनु भयो भने राम्रो हुन्छ । वा कुनै कम्युनिटी ग्रुप बनाएर आफ्नो पेशा संग सम्बन्धित रहेर छलफल पनि गर्न सक्नुहुन्छ । जहाँ  तपाइँले आफ्ना बिचार र आइडियाहरुलाई लाखौ श्रोता सामु पुर्याउन सक्नुहुन्छ ।
र यदि आफ्नै प्रोफाइललाइ नै सर्चमा आउने र सार्वजिनक रुपमा देखिने बनाउने हो भने तपाइँले प्रोफाइलको सेटिंगमा गएर  पब्लिक गर्नुपर्ने हुन्छ ।
ब्लग बनाइरहन झन्झटिलो लाग्नेहरुका लागि यो एउटा राम्रो उपाए पनि बन्न सक्छ । ब्लग बनाउनुको लागि केहि प्राबिधिक सिपको पनि आवश्यकता  पर्छ ।
twitter-marketing

४- ट्विटर

प्रोफेसनल व्यक्तिहरुका बिचमा नेटवर्किंग स्थापित गर्न ट्विटर अत्यन्तै प्रख्यात माध्यम बनेको छ । जसमा तपाइँले इन्डस्ट्री संग सम्बन्धित बिचार राख्ने मात्र होइन, उक्त इन्डस्ट्रीका लिडरहरुलाई फलो गर्न पाउनुहुन्छ र ति व्यक्तिका बिचारहरुसंग अपडेट हुन सक्नुहुन्छ । आजकल ठुला-ठुला कम्पनिका निर्देशक देखि लिएर कलाकार, राजनीतिज्ञ जस्ता बिभिन्न पेशामा रहेका व्यक्तिहरुले जनता सामु जानका लागि ट्विटर चलाउने गरेका छन् । भर्खरै हाम्रा प्रधानमन्त्री बाबुराम भट्टराइले पनि  ट्विटरमा एकाउन्ट खोलेर देशका जनताहरुसंग प्रतक्ष कुराकानी गरिरहनु भएको खबर त तपाइँहरुले सुन्नु भएकै होला ।
यो जुन सुकै पेशाको मान्छेलाई पनि आफ्नो पेशाका व्यक्ति संग सम्बन्ध बढाउन अत्यन्त लाभदायी छ । र सर्च इन्जिनको उपस्थितिको हिसाबले पनि अत्यन्तप्रभावकारी  छ । तर तपाइँले यो प्रयोग गर्नु अघि यसका केहि नियमहरुको बारेमा भने जानकारी राख्नु पर्ने हुन्छ ।
linked-in-marketing

५ – लिंक्ड इन

आफ्नो करिअर र पेशागत दक्षता प्रदर्शन गर्ने सबै भन्दा चर्चित ठाउँ बनेको छ लिंक्ड इन । यो आफ्नो इन्डस्ट्रीको मान्छेहरु संग कनेक्सन  बनाउनका लागि अत्यन्तै चर्चित छ । आजकल धेरै जसो कम्पनीहरुले स्टाफ लिनु पर्दा यसको सहयोग लिएर हायर गर्ने गर्छन । त्यसैले यो एक व्यवसायिक व्यक्तिहरुको प्रोफाइल जस्तो बनेको छ ।
यदि तपाइँले अस्ट्रेलियामा काम गर्ने एकाउनटेन्टहरुको लिस्ट  खोज्नु भयो भने यो सबै भन्दा राम्रो सोर्स बन्न सक्छ ।  त्यति मात्र नभएर यसमा हुने गरेका  बिभिन्न ग्रुप र सामुहिक छलफलले व्यवसायिक व्यक्तिहरु बिचको सम्बन्ध र वैचारिक आदान प्रदानको लागि अत्यन्तै राम्रो प्लेटफर्म बनेको छ । र जागिर सम्बन्धि विज्ञापनका लागि पनि यो प्रचलित छ ।
यसको साथै तपाइले यदि प्रोफेसनल प्रोफाइल बनाउनु भएको छ  भने गुगल सर्चमा गर्दा यसको रिजल्टहरु अगाडीको लिस्टमा आउने गर्छ ।
google-plus-marketing

६ – गुगल प्लस

गुगल प्लस गुगल कम्पनीको एउटा सोसियल नेटवर्क हो । यो गुगल कम्पनिको भएको हुनाले पनि यसमा बनाएका तपाइँको  प्रोफाइल चांडै सर्चमा देखिने सम्भावना हुन्छ । र यदि तपाइँ आफ्नो व्यक्तिगत साइट पनि चलाईरहनु भएको छ भने यसले सर्च रिजल्टमा साइट संगै तपाइँको प्रोफाइल पनि देखाउछ । जुन तपाईले लिंक गर्नु पर्ने हुन्छ । र यदि आफ्नो प्रोफाइलमा तपाइँको ठेगाना, तपाइँको स्किलको बारेमा राम्रो संग उल्लेख गर्नु भएको छ भने लोकल सर्चमा तपाइँको नाम अगाडी आउने चान्स बढी हुन्छ ।
youtube-marketing

७ – यू ट्युब

यदि तपाइँलाइ लेखिरहनु झन्झटिलो लाग्छ वा बोल्नु मन पर्छ भने तपाइँ  भिडियो ब्लागिंग पनि शुरु गर्न सक्नुहुन्छ । जुन आजकल अति नै चर्चामा रहेको माध्यम पनि हो । र अझ तपाइँ  यदि कलाकारिता वा मिडिया संग सम्बन्धित पेशामा हुनुहुन्छ भने त यो तपाइँको मार्केटिंगको लागि सर्बोत्तम माध्यम पनि बन्न सक्छ ।
तपाइँ कतिलाइ यू ट्युब गित र सिरियलका लागि मात्रै हो भन्ने लाग्न सक्छ । तर त्यो होइन, आजकल धेरै जसो पेशाका मान्छेले यसलाई राम्रो मार्केटिंगको उपाए बनाएका छन् । मान्छेहरु प्राय व्यस्त रहने र पढ्न अल्छी मान्ने भएकोले पनि भिडियोबाट संचार गर्नु राम्रो उपाए बनेको छ । यसको लागि तपाइँले भिमियो लगायत अन्य धेरै साइट पनि प्रयोग गर्न सक्नुहुन्छ ।
article-marketing

८ – लेख लेख्ने

यदि तपाइँसंग कुनै पनि बिषयको राम्रो अनुभव छ भने तपाइँ अनलाइनमा भएका प्रख्यात साइटहरुमा गेस्ट ब्लागिंग पनि गर्न सक्नुहुन्छ । यो  आजकल अनलाइनको दुनियाँमा बढ्दै गरेको एउटा  चलन पनि हो ।  कुनै पनि पेशामा पारङ्गत व्यक्तिहरुले त्यस बिषयमा रहेर प्रचलित प्लेटफर्ममा गएर आफ्ना मत राख्ने गर्छन । जसले गर्दा उनीहरुको त्यो बिषय संगको ज्ञानलाइ प्रतिबिम्बित गर्छ र उनीहरुको पेशामा सहयोग गर्छ ।
यो आफ्नो प्रचारको लागि मात्र नभएर पेशाको रुपमा पनि लिन  सकिन्छ । यदि तपाइँ संग त्यो बिषयमा राम्रो अनुभव छ भने त्यसको लागि ति साइटहरुले तपाइँको बिचारको राम्रो मुल्य पनि दिने गर्छन । र यदि तपाइँ त्यस्ता चर्चित साइटहरुमा लेख लेख्नु भयो भने सर्च इन्जिनमा आउनको लागि कुनै समय पनि लाग्दैन ।
तपाई र तपाइँको पेशालाइ गुगल सर्चमा देखिने बनाउनका लागि यी केहि सामान्य र प्रचलित तरिकाहरु थिए । यस्तै  अन्य अझै धेरै उपाएहरु छन् जसले तपाइँको पेशालाई प्रोमोट गर्न सहयोग गर्छन । शुरुको स्टेपमा तपाइँले यी मध्ये केहि तरिकालाइ सक्रिय रुपमा अगाडी बढाउनु भयो भने पनि त्यो प्रशस्त हुन सक्छ । यदि तपाइँलाइ अन्य कुनै कुराको बारेमा जानकारी लिन मन लागेमा मलाइ सिधै मेरो इमेलमा पनि सम्पर्क गर्न सक्नुहुन्छ वा नेपाली पत्रको इमेलमा सम्पर्क गर्नु भयो भने म आउने अंकमा तपाइँका जिज्ञासाहरुलाई पनि समेट्ने छु ।
अन्तिममा मेरो एउटा प्रश्न – “के तपाईले आफ्नो नाम गुगलमा सर्च गरेर हेर्नु भएको छ ? ”
के रिजल्ट आउँदो रैछ, एक पटक हेर्नुहोला । र यदि तपाइँ त्यो रिजल्ट बाट सन्तुस्ट  हुनुहुन्न भने माथीका केहि तरिकाहरूलाई अपनाउने प्रयास गर्नुहोला । केहि दिन मै असर पाउनुहुने छ ।

No comments:

Post a Comment