Friday, April 12, 2013

हतियार संकलन गर्दा

हतियार संकलन गर्दा

                                          वीरेन्द्र दाहाल
विराटनगरबाट काठमाडौँका लागि उडेको विमान अपहरणसँगै नेपालमा ठूलो धमाका मच्चियो। त्यही बेला स्वतन्त्र विद्यार्थी युनियन गठन गर्न पाउनुपर्छ भनेर सर्वोच्च अदालतमा परेको रटिको फैसला विद्यार्थीका पक्षमा गएपछि आन्दोलनले भिन्नै रूप लियो। विद्यार्थीका पक्षमा यस्तो फैसला आउनुमा गणेशराज शर्मा, कुसुम श्रेष्ठ र कृष्णप्रसाद भण्डारी आदिको योगदान बिर्सिनसक्नु छ।

पञ्चायतभित्रै प्रवेश गरेर विभाजन ल्याउने परीक्षणस्वरूप बीपी कोइरालाले युवक संगठनको अगुवाइ गर्न कुमार बुढाथोकी, टेकप्रसाद गुरुङ, कमल चित्रकारहरूलाई पठाउनुभएको थियो भने बुद्धिजीवीतर्फ रामराजाप्रसाद सिंहलाई। तर, हाम्रो मुख्य ध्यान यतातिरभन्दा सशस्त्र क्रान्तिमै थियो।

सशस्त्र क्रान्तिका लागि हामी अत्याधुनिक हतियारको खोजीमा लाग्यौँ। त्यसपूर्व चोरी, डँकैतीजस्ता विभिन्न अपराधमा संलग्न व्यक्तिका साथै नक्सलाइटजस्ता समूहबाट प्राप्त गरेका हतियार सीमित त थिए नै, तिनको स्तर पनि सामान्य थियो। किनभने, त्यसबेलासम्म बीपीसँग पैसा नै सीमित मात्र थियो। हतियारकै लागि भनेर छुट्टै रकमको प्रबन्ध गरिएको थिएन। विमान अपहरणपछि ३० लाख भारु साथमा आएपछि अत्याधुनिक हतियार संकलनतर्फ हाम्रो ध्यान केन्दि्रत हुन थाल्यो।

बीपीले भारतका समाजवादी नेताहरूसँग हतियारका बारेमा कुरा गर्नुभएछ। भर्खरै भारत-पाकिस्तान युद्ध सकिएको थियो। बीपी स्वयंले त्यसलाई नजिकबाट नियाल्नुभएकाले उहाँलाई युद्धका क्रममा प्रयोग भएका हतियारबारे राम्रो ज्ञान थियो। पाकिस्तानको सीमासँग जोडिएका राजस्थानका विभिन्न जिल्लाबाट हामीले भारत-पाक युद्धमा प्रयोग भएका अत्याधुनिक हतियार संकलन गर्‍यौँ।

त्यही सेरोफेरोमा बनारसको हाम्रो क्याम्पबाट चार जना होनहार युवक लीला दाहाल, ठगी दाहाल, गोकर्ण कार्की र खगेन्द्र दाहाल हातहतियारसहित काठमाडौँ जाने तरखरमा थिए। प्रशिक्षणपश्चात् उनीहरूलाई नेपाल पठाउन लागिएको थियो। आ-आफ्ना सामान प्याक गरएिका झोलाका साथै रभिल्बर र गि्रनेड राखिएको एउटा छुट्टै झोला पनि तयार गरेर उनीहरू बनारसबाट गोरखपुर हुँदै नेपाल छिरे। तर, उनीहरू पक्राउ परे। उनीहरूलाई नख्खु कारागारमा थुनियो। र, पछि जेल चलान गर्ने बहानामा १३ असोज ०३१ मा चारै जनालाई गोली हानी हत्या गरियो।

हाम्रै व्यवस्थापकीय कमजोरीका कारण भएको बनारसको यस घटनाले बीपी असाध्यै चिन्तित हुनुहुन्थ्यो। हामीभित्रैको स-साना कमजोरीले यस्ता होनहार युवक गुमाउँदाको पीडाबोध हामीलाई पनि थियो। यस घटनामा खुमबहादुर खड्काजीहरूले त नामै किटेर दोष लगाउनुभएको थियो। तर, त्यसरी नामै किट्नु हुन्छ कि हुँदैन, त्यो आफ्नो ठाउँमा भए पनि पञ्चायती गुप्तचरका चंगुलमा नेपाली कांग्रेसको बनारस क्याम्प फसेको छ भन्नेमा चाहिँ दुईमत रहेन। बनारसको क्याम्प अब गोप्य रहेन भन्ने निष्कर्ष निकाली हामी त्यहाँबाट दिल्लीतर्फ लाग्यौँ।

बीपीले नेपाली क्रान्तिलाई अन्तर्राष्ट्रिय समर्थन जुटाउने वातावरण मिलाउन दिल्लीमा समाजवादी नेता चन्द्रशेखरका एक जना साथीको घरमा अफिस खोल्नुभयो। यसको भित्री उद्देश्यचाहिँ राजस्थानका विभिन्न जिल्लाबाट जम्मा गरिएका अत्याधुनिक हतियार त्यहाँ संकलन गर्नु पनि थियो। त्यो अफिसको जिम्मा बीपीले शैलजा (आचार्य) दिदीलाई दिनुभएको थियो। शैलजा दिदीसँगै म पनि त्यही अफिसमा बस्थेँ। यो त्यही अफिस हो, जहाँ भारतीय समाजवादी नेताहरू आउन थाले। उनीहरूका साथै जग जीवनराम, डीके बरुवा, अटलविहारी बाजपेयीजस्ता नेताहरूसँग पनि बीपीले घनिष्टता बढाउनुभएको थियो।

एउटा घटना सम्झन्छु, हृषीकेश शाह बाबुराम भट्टराईलाई लिएर त्यहाँ पुग्नुभएको थियो। सायद त्यसबेलासम्म भट्टराई जवाहरलाल नेहरु विश्वविद्यालयमा भर्ना भइसक्नुभएको थिएन। बीपीले शाहलाई सोध्नुभयो, "के गर्दै हुनुहुन्छ अहिले ?" शाहको जवाफ थियो, "बाबुरामजीलाई लिएर नेपालभित्र जातीय आन्दोलन उकास्न सक्रिय छु।"

बीपीलाई दिल्लीमा पुलिसको स्कर्टिङ्को व्यवस्था थियो। विभिन्न ठाउँबाट जम्मा गरएिका अत्याधुनिक हतियार हामी त्यही पुलिस स्कर्टिङ् गरएिको बीपीको गाडीमा राखेर अफिससम्म पुर्‍याउँथ्यौँ। त्यतिबेलै चक्र बाँस्तोलामार्फत अन्तर्राष्ट्रिय हतियार आपूर्ति गर्ने समूहको मुखिया डेभिड भन्ने व्यक्तिसँग बीपीको सम्पर्क भयो। लामै कुराकानीपश्चात् हतियारको डिल भयो। तर, बीपीले हतियार कहाँबाट ल्याउँछौ त भनेर सोध्नुभयो। डेभिडको सोझो जवाफ थियो, "इथियोपियाबाट।" त्यसपछि बीपीले 'एडभान्स'स्वरूप केही रकम पनि उसलाई दिनुभयो।

दुर्भाग्य ! हतियारले भरिएको ट्रक नेपालतर्फ जाँदै गर्दा पाकिस्तानको वागा बोर्डरमा समातियो। त्यस बेलाको टाइम्स अफ इन्डियाले त नेपाल जान लागेको हतियार समातिएको भनेर यसलाई ठूलो समाचारकै रूपमा प्रस्तुत गरेको थियो। त्यस घटनामा मान्छेचाहिँ कोही पक्राउ परेनन्। बीपीले कुराकानीकै क्रममा हामीहरूसित शंका व्यक्त गर्दैर् भन्नुभएको थियो, "त्यो त डबल एजेन्ट पो रहेछ। मसँग भएको पैसा सक्न त्यो खेल खेलिएको रहेछ। तर, त्यो कहाँबाट चालिएको कदम थियो, समयक्रममा अवश्य पत्ता लाग्ला।"



प्रस्तुति : ईश्वरी ज्ञवाली

No comments:

Post a Comment