Friday, April 12, 2013

पारस खड्का : पुवुदु सूत्र...

पारस खड्का : पुवुदु सूत्र


आठ महिनाअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षकका रूपमा नेपाल आउँदा पुवुदु दासानायकेले भनेका थिए, "नेपाली खेलाडीमा क्षमता छ। उनीहरू प्राविधिक रूपमा बलिया छन्। तर, अनुभव र आत्मविश्वासको भने कमी छ। त्यसैले यहाँका खेलाडीले विदेशी भूमिमा क्रिकेट खेल्नु जरुरी देखिन्छ।" पूर्वश्रीलंकाली तथा क्यानेडेली खेलाडी दासानायकेको त्यस्तो भनाइमा दम थियो। गुरु रोय लुक डायसको स्थानमा आएका चेला उनी अहिले पनि बारम्बार यही आशयका भनाइ सार्वजनिक गररिहन्छन्। त्यसैले उनले आफ्ना खेलाडीलाई अहिले पनि बेलाबेला वल्र्डकपको सपना देखाइरहन्छन्।

अन्य टिमजस्तै नेपालको पनि अन्तिम इच्छा त वल्र्डकप क्रिकेट खेल्नु नै हो। दासानायके त्यसैको समीकरण बनाउन चाहन्छन्। आखिर नेपाली खेलाडी, प्रशिक्षक र क्रिकेटपे्रमीको सपना पनि नेपालले वल्र्डकप खेलोस् भन्ने हो। तर, वल्र्डकपमा पुग्न सहज छैन। त्यसका लागि चाहिने अनुभव हाम्रा खेलाडीमा अहिले देखिन्न। यो कुरालाई दासानायकेले राम्ररी बुझेका छन्। एउटा खेलाडीमा राम्रो खेल्ने क्षमता र प्राविधिक रूपमा बलियो भएर मात्र पुग्दैन। यहाँ दासानायकेको कुरा सान्दर्भिक हुन्छ। भन्छन्, "खेलाडीको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको अनुभव हो।"

अहिले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का क्यानडामा व्यावसायिक क्रिकेट खेलिरहेका छन्। अर्का अलराउन्डर शक्ति गौचन भारतको बहुचर्चित इन्डियन पि्रमियर लिग -आईपीएल)को टिम राजस्थान रोयल्समा एक साताको ट्रायल दिएर एक महिनाअघि नै फर्के। दुवैलाई विदेशको ढोका खोलिदिने काम गरे, प्रशिक्षक दासानायकेले। खड्का अहिले उत्तर अमेरकिाको तेस्रो ठूलो पि्रमियर डिभिजन अन्तर्गत पोम्मे कन्फेरेन्स लिगमा ओन्टारयिो क्रिकेट एकेडेमी एन्ड क्लबबाट खेल्न व्यस्त छन्। नौ टिम सम्मिलित सो लिगमा विश्वभरका खेलाडीको जमात छ। नेपालबाट भने त्यहाँ खेल्ने खड्का पहिलो र एक मात्र खेलाडी हुन्।

नेपालले गत जेठमा युनाइटेड अरब इमिरेट्स -यूएई)मा भएको आईसीसी वल्र्ड ट्वान्टी/ट्वान्टी छनोट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्‍यो। नेपाल समूहको शीर्ष तीनमा रहन सकेन र प्लेअफमा पुगेन। तर, १६ वर्षे नेपाली क्रिकेटको इतिहासमा सोही प्रतियोगिता नै यहाँका खेलाडीका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा पाइला टेक्ने 'टर्निङ् प्वाइन्ट' बन्यो। नेपाल सातौँ स्थानका लागि भएको खेलमा पपुवान्युगिनीलाई हराउँदै वरीयतामा सातौँ स्थानमा आइपुग्यो। यो नेपाली क्रिकेट इतिहासमै सबैभन्दा ठूलो र महत्त्वपूर्ण फड्को थियो। नेपाल वरीयतामा आठ स्थान माथि उक्लियो। सो प्रतियोगिता खेल्नुअघि नेपाल १५औँ स्थानमा थियो। यूएईमा नेपालका गौचन, कप्तान खड्का, चन्द्र साउद, वसन्त रेग्मी र प्रदीप ऐरीकोे प्रदर्शन स्मरणीय रह्यो। त्यहाँ गौचन र खड्काको प्रदर्शनबाट नेपाली टिम मात्र होइन, विदेशी टिमका प्रशिक्षक र खेलाडी पनि प्रभावित भएका थिए। १६ टिम सहभागी प्रतियोगिताको उत्कृष्ट ११ खेलाडी छान्दा यी दुईको नाम पनि समावेश थियो। त्यसलगत्तै प्रशिक्षक दासानायकेले भनेका थिए, "यूएईमा हामीले गरेको प्रदर्शनले सबैलाई प्रभाव पार्‍यो। नेपाललाई हेर्ने नजर अब परविर्तन भएको छ।"

राजस्थानमा पनि गौचनले राम्रो प्रभाव छाड्न सफल भए। टेस्ट खेल्ने राष्ट्रका चर्चित र सफल खेलाडीको जमातमा गौचनले सात दिनसम्म नेटमा उत्कृष्ट प्रदर्शन गरे। त्यसैले त गौचनलाई देख्ने सबैले भने, 'नेपालका खेलाडीले पनि यस्तो राम्रो प्रदर्शन गर्दा रहेछन्।' राजस्थानजस्तो ठूलो क्लबले 'गौचन हाम्रो टिमका सदस्य हुन्' भन्दै टि्वटसमेत गरेको थियो। भारतीय भूमिमा गौचनले छोडेको सकारात्मक प्रभावले पनि भविष्यमा नेपाली क्रिकेटलाई सहयोग मिल्ने आशा गर्न सकिन्छ। राजस्थानमा नयाँ र फरक कुरा सिक्न मिलेको गौचनले नेपाल फर्केलगत्तै बताएका थिए। त्यहाँ सिकेको पाठलाई गौचनले नेपाली टिममा पूर्ण रूपमा प्रयोग गर्न सक्ने छन्। अन्य खेलाडीले पनि उनीबाट धेरै कुरा सिक्न सक्छन्।

यूएईमा छनोट प्रतियोगिता सकिएलगत्तै नेपालका सिनियर खेलाडीका लागि क्यानडा, इंग्ल्यान्ड र नेदरल्यान्ड्सका क्लबसँग कुरा भइरहेको दासानायकेले बताएका थिए। उनको जुनियर नभई, सिनियर खेलाडीलाई विदेशमा खेलाउनुपर्छ भन्ने तर्कमा पनि कारण थियो। जुनियर टिमले असारमा एसिया कप र भदौमा यू-१९ वल्र्डकप खेल्नेछ, जसका लागि टिमको तयारी अहिलेदेखि नै गर्नुपर्ने हुन्छ। तर, सिनियर टिमको प्रतियोगिता भने पाँच महिनायता छैन। त्यसैले यसबीचको समयमा सिनियर खेलाडीले अनुभव बटुल्नुपर्ने उनले बताएका थिए।

दासानायके अन्य सिनियर खेलाडीलाई पनि विदेशी भूमिमा खेल्न पठाउने तयारी गररिहेको बताउँछन्। सशस्त्र प्रहरी बल -एपीएफ) क्रिकेट क्लबका कप्तानसमेत रहेका खड्काको पनि उस्तै तर्क छ। "टिमका अन्य सदस्यले पनि मैलेजस्तै विदेशमा खेल्न पाउनुपर्छ," कप्तान खड्का भन्छन्, "क्रिकेट टिमगेम हो। एउटा खेलाडी मात्र राम्रो भएर हँुदैन। टिमका हरेक सदस्य सक्षम हुनु जरुरी छ।"

क्यानडामा खेल्ने पहिलो नेपाली भएका खड्काका लागि अवसर र चुनौती दुवै छन्। भन्छन्, "पहिलो खेलाडी भएँ, खुसी छु। तर, मैले उनीहरूले सोचेजस्तो प्रदर्शन गर्न जरुरी छ। मैले राम्रो गरेमा मेरा अन्य साथीले पनि स्थान पाउने छन्।" अफगानिस्तानले क्रिकेटमा छोटो समयमा गरेको प्रगतिलाई भुल्न नसकिने र त्यसबाट पाठ सिक्नुपर्ने तर्क उनको छ।

खड्का मात्र होइन, राष्ट्रिय टोलीका अन्य खेलाडी पनि आफूहरूले विदेशी भूमिमा स्तरीय क्रिकेटको अनुभव बटुल्न पाए नेपालले दुई वर्षमा वल्र्डकप खेल्न सक्ने आशा व्यक्त गर्छन्। राष्ट्रिय टिमका पूर्वकप्तान पवन अग्रवाल टिम अघि बढ्न नसक्नुको कारण अनुभवकै कमी मान्छन्। भन्छन्, "हामी क्रिकेटको उर्वर भूमि दक्षिण एसियामा छौँ। भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाजस्ता टेस्ट मान्यताप्राप्त राष्ट्र यहाँ छन्। तर, हामीले यसको पूर्ण सदुपयोग गर्न सकेका छैनौँ।" उनको विचारमा नेपाल क्रिकेट संघ -क्यान)ले विदेशीसँग सम्बन्ध विस्तार गर्दै अघि बढ्नुपर्छ।

मौजुदा खेलाडीमा पनि विदेशी भूमिका खेलेर अनुभव बटुल्ने उत्कठ अभिलाषा छ। यसमा प्रशिक्षक र खेलाडीको एकमत छ। प्रशिक्षक दासानायके भन्छन्, "प्रदर्शनलाई सुधार्दै जाने हो भने हाम्रो वल्र्डकप यात्रा टाढा छैन। मिहिनेत भने धेरै गर्न जरुरी छ। खेलाडीमा अनुभवको खाँचो छ। त्यसलाई हामीले पूरा गर्नुपर्छ।" हुन पनि हो, युएईको प्रदर्शनले नेपालले दुई वर्षपछि हुने ट्वान्टी/ट्वान्टी वल्र्डकप खेल्न सक्ने सम्भावनालाई दर्शाउँछ। प्रशिक्षक दासानायकेले भनेजस्तै विदेशी भूमिमा नेपाली खेलाडीलाई खेलाउने र अनुभव बुटुल्ने रणनीति सफल भयो भने त्यसको सम्भावना अरू बढ्छ। हेरौँ, प्रशिक्षक पुवुदु दासानायके यसमा कत्तिको सफल हुन्छन् ? 

No comments:

Post a Comment